काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बाले)ले सांसद विकास कोष ब्युँतिएसँगै सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका छन्।

सोमबार प्रस्तुत भएको आगामी आव २०८०/८१ को बजेटमा सरकारले पूर्वाधार क्षेत्र विकासका नाममा सांसदले मनमौजी खर्च गर्न मिल्नेगरी सांसद विकास कोष ब्युँताएसँगै बालेनले सामाजिक सञ्जालमार्फ यस्तो टिप्पणी गरेका हुन्।

बालेनले सांसद विकास कोषका नाममा जनही ५ करोड पाएपछि सांसदहरु वडा अध्यक्षको लेबलमा आएको र वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद हुने भन्ने प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरु।’

सोमबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सांसद विकास कोषलाई ब्युँताएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा हरेक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रुपमा निर्वाचित सांसदले ५ करोड रुपैयाँ खर्च गर्न पाउने घोषणा गरेका छन्।