आइतबार, १४ असोज २०८०, दोलखा। नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

सहमति पत्रमा स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको भर पर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुन अनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाही गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ।

पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नु पर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नु पर्ने लगायतका माग सङ्घर्ष समितिले राखेको थियो।

सहमतिपत्रमा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरे। सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।