
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि देशभरका ६ महानगरले बजेट प्रस्तुत गरेका छन्।
काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्याएको छ। आइतबार काठमाडौं महानगरपालिकी उपप्रमुख सुनिता डंगोलले महानगरमध्येकै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेकी हुन्। चालु आवको तुलनामा काठमाडौं महानगरपालिकाले आगामी आवमा झन्डै १३ करोड धेरैको बजेट प्रस्तुत गरेको छ। चालु आवमा महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको थियो।
आगामी आवका लागि प्रस्तुत भएको महानगरको बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
वीरगन्ज महानगरपालिकाले आव २०८०/८१ का लागि बजेट असार ६ गते नै ल्याएको छ । वीगन्जले ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको हो। चालु आव २०७९/८० को तुलनामा वीरगन्जले ल्याएको बजेट १ अर्ब २३ करोड कम अर्थात ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार रुपैयाँको छ।
चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार (७७ प्रतिशत) र पुँजीगततर्फ ६९ करोड ७९ लाख १५ हजार (२२ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको महानगरका उपप्रमुख इम्तियाज आलमले बताएका छन्। त्यस्तै, वित्तीय व्यवस्थातर्फ महानगरले ३ करोड ६३ लाख २४ हजार (१ प्रतिशत) विनियोजन गरेको छ।
त्यस्तै, विराटनगर महानगरपालिकाले आगामी आवका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार महानगपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्। चालु आवको तुलनामा विराटनगर महानगरपालिकाले झन्डै १ अर्ब कम बजेट ल्याएको हो। चालु आवमा विराटनगरले ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो।
आगामी आवको बजेटअन्तर्गत विराटनगर महानगरपालिकलो पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुयैयाँ विनियोजन गरेको छ भने चालुतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, बित्तिय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
भरतपुर महानगरपालिकाले आगामी आव २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यो आकारको बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८४ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट प्राप्त ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको अधिकारीले बजेट प्रस्तुत गर्दै बताए।
भरतपुरले चालु आवमा ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
त्यस्तै, ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ। महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आइतबार यो आकारको बजेट प्रस्तुत गरेकी हुन् । ललितपुरको बजेटमध्ये पुँजिगततर्फ ४ अर्ब २१ लाख ४६ हजार विनियोजन भएको छ भने चालु खर्चतर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको शाक्यले बताएकी छन्।
आगामी आवका लागि ललितपुरले ल्याएको बजेट चालु आवको भन्दा धेरै हो। ललितपुरको चालु आवको बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको थियो।
त्यस्तै, पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले यो आकारको बजेट प्रस्तुत गरेकी हुन्।
कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन भएको महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए।
पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो। पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
