काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ।
यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै महानगरले गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न अनुरोध गरेको हो। महानगरले असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन पनि अनुरोध गरेको छ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै महान क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध हो।
‘बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन’ उक्त सूचनामा भनिएको छ।
यो सूचना बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध गरेको छ।
© 2025, Online Bulletin