
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै उनले सत्तारुढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए। उनले बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने बताए।
ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने बताएका हु्न्।
‘अब यहाँ सत्ता अहंकार हुन्छ। बजेट सच्याउन मिल्दैन। बजेट सच्याए वापत सरकार असफल भयो भन्दैनौं हामी। सच्याउनुस बजेट। सरकार असफल भयो, सरकारले बजेट फेर्यो भन्दैनौं हामी तर सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौं। तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिदैन। हामी जो बाहुबली छौं। टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईलाई सत्ता अहंकारबाट तपाईको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ।’
अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दाबी समेत गरे।