विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपाली मनुसनबाट १२ लाख ५० हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आइबार उक्त अनुमान प्रस्तुत गर्दै प्राधिकरणबाट मनसुनजन्य विपद्का लागि गरिएका थप तयारीबारे जानकारी गराए।

पोखरेलले पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्दार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक-एकवटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको बताए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८० स्वीकृत गरेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको समितिको १८ औं बैठकले कार्ययोजना स्वीकृत गरेको हो।

स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र र मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्दार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ।

गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृति हुन नदिई कार्ययोजनाको ठोस कार्यन्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले व्यवस्थित कार्ययोजना बनाउँदा नागरिकको तहबाट पनि सहयोग प्राप्त हुने अनुभव सुनाउँदै कार्ययोजना कार्यन्यवनमा सक्रियाताका साथ सहयोग गर्ने प्रतिबद्धता गरे।

त्यसैगरि भण्डारण गरिएका आपतकालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने ‘गोदाम’ स्रोत व्यवस्थापन प्रणाली (https//:godam.gov.np) र खोज तथा उद्दारमा संलग्न हुने स्वयंसेवकहरुको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीका (https://vms.ndrrma.gov.np/) बारेमा पनि उल्लेख गरे। स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचिकृत भइसकेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिएको छ। सरदरभन्दा कम पानी पर्ने भएकोले विगत भन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ।

नेपालमा सामान्यतया जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्दछ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने संभावना रहेको बताए। नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ।

विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन्।

त्यसैगरि, बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन्।

मनसुनजन्य विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गतका खोज-उद्दार जनशक्ति र विभिन्न निकाय अन्तर्गत रहेका विपद् उद्दार तथा राहतसँग सम्बन्धित स्रोत साधन यन्त्र उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ।