मंगलबार (भोलि)बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले नियमित उडान सुरु गर्दैछ।

निगमले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको विमानस्थल कार्यालयले जानएको छ।

विमानस्थलका अनुसार भोलि विहान ७:३० बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ। पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागतको तयारी भइरहेको छ। भोलि यो जहाज भैरहवा अवतरण गरेर पुनः काठमाडौं फर्कनेछ।

हाल निगमले आफूसँग भएको दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरी कुल चारवटा ठूला जहाजमार्फत काठमाडौं बेस रही दिल्ली, दोहा, बैंगलोर, दुबाई, साउदी अरेबिया, मुम्वई, थाइल्याण्ड, मलेसिया, हङकङ लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यमा नियमित उडान गर्दै आएको छ।

जजिरापछि निगमको व्यवसायिक उडानसँगै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या दुईवटा पुग्नेछ।