
सरकारले राइड सेयरिङ सेवालाई नियमन गर्न ‘राइड शेयरिङ निर्देशिका २०८०’ को मस्यौदा तयार पारेको छ।
पठाओ, टुटल, इनड्राइभ लगायतका भाडामा सेवा दिने दुईपाँग्रे सेवालाई नियमन गर्न मस्यौदा तयार पारिएको हो। यातायात व्यवस्था विभागले जारी गरेको मस्यौदामा अब राइड सेयरिङ सेवा एक पटकमा १५ किलोमिटरसम्म मात्रै दिन पाउने व्यवस्था गरेको छ।
मस्यौदा अनुसार राइड सेयरिङ सेवा एक दिनको अवधिमा १२ घण्टासम्म मात्रै सेवा दिन पाउनेछ।
त्यसैगरी यस्तो सेवा दिन राइडरले लाइसेन्स लिएको एक वर्ष पुरा भएको हुनुपर्ने छ। यात्रुले प्रयोग गर्ने सिस्टम नेपाली र अंग्रेजी दुबै भाषामा हुनुपर्नेछ। यात्रुले राइड सेयरिङ मार्फत यात्रा गरेको विवरण कम्पनीसँग ६ देखि १८ महिनासम्मको अनिवार्य हुनुपर्ने छ।
निर्देशिका अनुसार रात्रीकालिन समयमा प्रकाश परिवर्तन हुने किसिमको पोशाख अनिवार्य भनिएको छ।
त्यसैगरी हाल विकृतिको रुपमा रहेको अफलाइन राइडलाई निषेध गरेको छ। यात्रुलाई सेवा दिने राइडर र सवारीसाधनको विवरण सहितको टिकट पनि दिनुपर्नेछ।
राइड सेयरिङ सेवाको भाडा भने प्रदेश सरकार वा स्थानीय सरकारको आधिकारिक निकायले तोके बमोजिम हुने उल्लेख छ।
