
घोराही सिमेन्टको आइपीओमा पहिलो दिनमै १ लाख भन्दा बढीले आवेदन दिएका छन्।
सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन बिहीबार साँझ ५ : ०५ बजेसम्ममा १ लाख २२ हजार ८२८ जना सर्वसाधारण लगानीकर्ताले ५१ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका हुन्।
कम्पनीले बिहीबार जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो।
पहिलो दिनमै करिब ७४% सेयर बिक्री भइसकेको छ। कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपीओ खुला गरेको हो।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ। साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ।
त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गरेको हो। यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहनेछ। घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
