
वाग्मती प्रदेश सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनको तिर्न बाँकी करमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा (तामाङ)ले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो घोषणा गरिएको हो।
सार्वजनिक सवारीसाधनले तिर्न बाँकी कर र नवीकरण शुल्क आगामी फागुन मसान्तसम्म तिरे जरिवानामा ९० प्रतिशत छुट दिइने मन्त्री लामाले बताएका हुन्।
‘वाग्मती प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा दर्ता भई २० वर्ष पूरा भएका कारण संचालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारीसाधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फाल्गुण मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना ९० प्रतिशत छुट दिई सम्बन्धित कार्यालयहरूबाट त्यस्ता साधनको लागत कट्टा गर्ने व्यवस्था मिलाएको छु,’ बजेट वक्तव्यमा भनिएको छ।
