
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध करिब डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा चलाएको छ।
पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेपछि छानबिन गरेर अख्तियारले सोमबार ढकालविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।
ढकालले सरकारी पदमा रहँदा र अन्य विभिन्न व्यक्तिहरूसँगको लेनदेनसहित जम्मा ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ।
जसमा ६ करोड ३९ लख ९३ हजार ३१२ रुपैयाँको मात्रै बैधानिक स्रोत खुल्न सकेको स्रोतले बताएको छ।
स्रोतका अनुसार ढकालले आर्जन गरेकोमध्ये १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँको बैधानिक श्रोत खुल्न नसकेको हो।
सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ गतेदेखि उनले सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम अख्तियारले छानबिन गरेको थियो।
