नेपाल लघुवित्त बैंकर्स संघले सरकारबाट शान्ति सुरक्षाको प्रत्याभूति नभए लघुवित्तका सम्पूर्ण सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ।
संघले आइतबार पत्रकार सम्मेलन गर्दै लघुवित्त क्षेत्रमा अराजक गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने र यसका सम्पूर्ण सेवाहरु बन्द गर्नुपर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने बताएको हो।
देशको संवैधानिक कानूनभित्र रही सञ्चालन गरिएका व्यवसायमा प्रत्यक्षआँच पुऱ्याउने, लाखौं जनताको बैंकिङ्गप्रतिको भरोसालाई प्रत्यक्ष प्रभावपारी समग्र देशको अर्थतन्त्रमा नकारात्मक प्रभावपार्ने जस्ता गैर कानूनी गतिविधिहरु भैरहेका संघले जनाएको छ।
उक्त स्वार्थ समूहको आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्दगरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउनकालागि लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणको लागी ज्ञापनपत्र पनि संघले बुझाएको छ।
मनिराम ज्ञवालीसहितका व्यक्तिहरुको नेतृत्वमा भएको ऋण नतिर्ने आन्दोलन नरोकिएपछि संघले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा उक्त समुहको गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने र यसका सम्पूर्ण सेवाहरु बन्द गर्नु पर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने उल्लेख गरिएको छ।
विषयको गाम्भिर्यतालाई मनन गरी सम्बन्धित निकायहरुलाई आवश्यक निर्देशन दिई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाई दिन समेत ज्ञापनपत्रमार्फत माग गरिएको छ।
नेपाल सरकारले लघुवित्त क्षेत्रको सुदृढीकरणका लागि लिने नीतिगत व्यवस्थाका लागिआभार प्रकट गर्दै हालको समस्या समाधानका लागि संघले आग्रह गरेको छ।
© 2025, Online Bulletin