पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ।
नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको शुल्क बढाएको हो।
हाल प्रति उडान ८ हजार ५ सय रुपैयाँ शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बीमा र पाइलटको खर्च समाहित गरिएको छ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनले बताए। पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुंगा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बताए।
अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको ६ हजार रुपैयाँ हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए। उनले भने, ‘पहिला तीन हजार ९०० रुपैयाँ पाउँथे।’
नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन्। तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए। सबै कम्पनीमा गरी ३७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन्। हाल २ सय ५० पाइलट सेवामा रहेको उनले बताए।