आईतवार, १६ भाद्र २०८१, दोलखा। १ फागुन २०५२ मा नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न ‘जनयुद्ध’ को बाटोमा अघि बढौँ ’ भन्ने मूल नाराका साथ ‘जनयुद्ध’ को सुरुवात भएको थियो।
‘जनयुद्ध’ को १० वर्षमा हजारौँ नागरिकहरुले ज्यान गुमाउनु पर्यो। आज पनि कैयौँ मानिस अभैmबेपत्ता छन्। उनका आफन्तहरू अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन्।
माओवादी ‘’जनयुद्ध’ ’ २०६३ सालमा शान्तिपूर्ण रूपमा अवतरण भयो। सात दलसँग भएको १२ बुँदे सम्झौता हुँदै बिस्तृत शान्ति सम्झौतामा आएर १० वर्षे ‘जनयुद्ध’ शान्तिपूर्ण रूपमा टुंगियो।
२०६४ को ऐतिहासिक संविधानसभा मार्फत दश बर्ष जनयुद्ध लडेको माओवादी पार्टी पहिलो राजनीतिक शक्तिको रुपमा उदय भयो। जनयुद्धमा नेपाली जनताले देखाएको त्याग र बलिदानको खास मुर्तरुप वा चुरो बिषय गणतन्त्र नै थियो जसका लागि पनि नेपाली जनताले माओवादीलाई पहिलो शक्तिको रुपमा निर्वाचित गराए।
माओवादी संग नेपाली जनताका धेरै आशा र अपेक्षा थिए, एजेन्डा थिए। जनयुद्धमा ज्यान गुमाएका परिवार, घाइते योद्धा, अपाङ्ग लगाएत ३ करोड नेपाली जनतालाई माओवादीसँग एउटा अपेक्षा थियो, आशा थियो। जनयुद्धमा माओवादीले उठाएका मुद्दाहरु तब कार्यन्वयन गर्ने तह सरकार हो त्यसैको प्रतिनिधित्व गर्ने ठाउँमा माओवादी पुग्दै थियो त्यस अर्थमा पनि धेरै जनताको अपेक्षा माओवादीसँग जोडिएको थियो।
जनयुद्धमा माओवादीले उठाएका जनताको जनजिविकाका मुद्दाहरु, राष्ट्रियताका मुद्दाहरु साथै जनप्रिय मुद्दाहरु संग जब जनता कन्भिन्स थिए त्यसअर्थमा पनि माओवादीलाई भोट दिएर पहिलो शक्ति बनाए र दश बर्ष जनयुद्ध लडेको पार्टीलाई मत दिई संविधानसभाको पहिलो शक्ति बनाएर संसद भवन छिर्ने बाताबरण तयार पारिदिए।
जब माओबादी सरकार बाट बाहिरियो तब माओवादी संग गरिएका लाखौं जनताका आशा र अपेक्षा साथै जनयुद्धमा उठाईएका मुलभुत मुद्दा कार्यन्यनमा माओवादी रक्षात्मक र कमजोर बन्दै गयो।
‘जनयुद्ध’ को नेतृत्व गर्नेहरू राज्य संचालक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन्। प्रचण्ड लगायत १०÷१२ जना नेताको सुरक्षित राजनितिक अवतरण भए पनि माओबादी जनयुद्धले जन्माएका हजारौं नेता कार्यकर्ताको अवस्था भने अहिले झन दुखद र दयनीय बनेको छ। जनयुद्धका घाईते अपाङ्गहरुको अवस्था झनै दहनिय छ। शरिरमा लागेको बमका छर्राहरुले अहिले पनि दुखाईरहेका छन्। द्वन्द्वपीडितहरू अहिले पनि न्यायको लागि आन्दोलनरत नै छन्। जनयुद्धका मुद्दा, मुल्य, मान्यता र आदर्श वेवारिसे त भए नै त्यो संगै हजारौं नेता एवम् कार्यकर्ताको राजनीतिक एवम् सामाजिक भबिस्य अन्योलमा परेको छ।
जनयुद्ध लडेका सयौं जनमुक्ति सेनाहरु आज खाडीमा पसिना बगाउन विवस छन् भन्ने कतिपय पासपोर्ट लिएर काठमाडौंका गल्लिहरु भौतारिरहेका छन्।
यस्तै एक उदाहरण बनेका छन् दोलखा मेलुङ गाउँपालिका वडा नं. १ आहालडाँडा घर भएका केशव धनुके। ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न भन्दै १३ बर्षको उमेरमा ‘जनयुद्ध’मा होमिएका धनुके अहिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेका छन्। ३५ बर्षिय धनुके कलेजो र आमाशयको क्यान्सरबाट जीवन र मरणको दोशाधमा छन्।
२०५९ सालमा जनयुद्धमा होमिएका उनले तात्कालिन राज्यसत्तासँगको विभिन्न लडाईमा जित्न सके तर क्यान्सर जस्तो प्राणघातक रोगलाई जित्न सक्ने अवस्थामा छैनन्।
बैदेशिक रोजगारका लागि कतार पुगेका उनि क्यान्सर रोग लागेपछि गत जेठमा मात्र स्वदेश फर्केका हुन्। तीन बर्षसम्म त्यहाँ बसेर कमाएको केहि रकम र दाजुभाइ, आफ्ना आफन्तहरुको सहयोगमा हालसम्म उपचार गराइरहेको बताउने उनि अब के गर्ने भन्ने अन्योलमा छन्। हालसम्म १० लाख हाराहारीमा खर्च भैसकेको उनको भनाई छ। स्थानीय युवाहरुले अभियान चलाएर १ लाख २० हजार संकलन त भएको छ तर त्यो पैसाले केहि हुनेवाला छैन।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको ३ पटक किमो लगाइ सकिएको छ। अस्पताल श्रोतका अनुसार ८० देखि ९० प्रतिशत घाउहरु निको भएपछि मात्र अपरेसन गर्नु पर्नेछ।
सामान्य कृषक परिवारमा जन्मेका उनले यस अघि नै बाबु गुमाइ सकेका छन् बने परिवारमा आमा, श्रीमती र एक तीन बर्षिया छोरी छन्। मुख्य आयश्रोत नै बैदेशिक रोजगार भएका उनि क्यान्सरबाट ग्रसित भए पछि खान र बस्न नै समस्या भएको स्थानीय समाजसेवी युवा निराजन आचार्य बताउछन्। धनुकेको जग्गामा ६ महिनाका लागि खाना पुग्ने पनि उत्पादन हुँदैन।
भक्तपुरको ठिमीमा डेरा गरि बसिरहेका क्यान्सर पिडित धनुके आफुभन्दा पनि गाउँमा रहेकी बुढी भैसकेकी आमा, श्रीमती र छोरीको भविष्य प्रति चिन्तित छन्। अस्पतालले उपचार पश्चात् पनि पूर्ण रुपमा निको हुने संकेत गरेका छैनन्।
ज्यानको माया मारेर जनयुद्धमा होमिएका उनलाई आजसम्म कुनै पनि माओवादी नेता कार्यकर्ता भेट्न नआएको गुनासो गर्छन्। ‘हिजो ज्यानलाई हत्केलामा राखेर देश र जनताका लागि भनेर लड्न हिडियो, त्यो समय हरेक मिनेट, सेकेन्डमा के हुने हो भर नै हुँदैनथ्यो। दुस्मनसँगका लडाई जित्न सफल भएर ज्यान जोगाइयो तर अब बाँच्ने छिनो आशा बाहेक केहि छैन। त्यसबेला बिभिन्न झुटा आश्वासन र लोभ देखाएर युद्धमा होमिन उक्साउनेको भिड हुन्थ्यो तर अहिले सबैले बिर्सिए।’ उनले भने ।
उनले घरको आर्थिक अवस्था कम्जोर रहेको भन्दै उपचारका लागि देश तथा विदेशमा रहने सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको याचना गरिरहेका छन्। सहयोगका लागि तलको ठेगाना वा खातामा उपलब्ध गराउन सकिनेछ।
नेपाल बैंक लि. चरिकोट शाखा
केशव धनुके
खाता नम्बर. १३००१००६४४५१८००००००१ अथवा सानिमा बैंकको क्युआर
सम्पर्क( केदार धनुके -९८४१६९४७६९
केशव धनुके -९८४०३९९२३७
निराजन आचार्य -९८५१०१२५२६

