काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निर्धारण गरेको छ। पछिल्लो समय काठमाडौंमा सवारी पार्किङ शूल्क जथाभावी लिन थालेपछि महानगरले यसलाई व्यवस्थित बनाउन लागेको हो।

महानगरकी उपप्रमुख सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन्।

आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको बताइन्।

सोहीअनुरूप अब काठमाडौं महानगरपालिकाभित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँमात्रै तिर्नुपर्ने हुन्छ। एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताइन्।

उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ। एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ। त्यो भन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ।