विहीबार, २१ असार २०८०
दोलखा । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अर्को ३ दिने स्पष्टीकरण सोधिएको छ। यस अघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधिएको तर अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरे पछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका थिए ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण माग गरेका थिए । तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडान लिँदै आए सगै आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै आफूमाथि कारबाही भए भोग्न तयार रहेको बताएका थिए । जवाफ नदिए पछि रुष्ट बनेका मन्त्री किराती अधिकारीमाथि कारबाही अघि बढाउने मुडमा पुगेका छन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी रहेको छ ।