शानिबार, २३ असार २०८०
दोलखा।
दोलखाको पवटीस्थित स्वास्थ्य चौकीको नयाँ भवन सञ्चालनमा आएको छ।

नवनिर्मित स्वास्थ्य चौकी भवनको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले शुक्रबार एक समारोहका बीच उद्घाटन गरेका हुन्।
२०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएपछि स्वास्थ्य चौकी प्रिफ्याबबाट निर्मित अस्थायी संरचनामा सञ्चालन हुँदै आएको थियो।
एसियाली विकास बैंकको २ करोड ५० लाख सहयोगमा स्थानीय स्तरमै जग्गाको व्यवस्थापन गरी सात कोठे नयाँ भवन निर्माण गरिएको हो। नवनिर्मित स्वास्थ्य चौकी भवन रमाईलो चोकबाट करिब १ किलोमिटरको दुरीमा रहेको छ। यसअघि पवटी गाविस वडा नम्बर ४ स्थित टारको पाखा रमाईलो चोकमा स्वास्थ्य चौकी सञ्चालनमा थियो।

स्वास्थ्य चौकी भवन निर्माणका लागि झण्डै ३ रोपनी जग्गा दान गर्ने कृष्ण प्रसाद कोइराला, डिल्ली प्रसाद कोइराला र प्रेम कुमार बस्नेत तथा स्वास्थ्य चौकीका पूर्व इन्चार्ज कपिलमणी न्यौपानेलाई सम्मान गरिएको छ।
सोही अवसरमा पवटी स्वास्थ्य चौकी अन्तर्गत ६० वर्ष उमेर पूरा भएका १६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई बिदाई तथा उनीहरूको स्थानमा भर्ना भएका नयाँ स्वयंसेविकालाई स्वागत गरिएको छ।

कार्यक्रममा मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईं, राजनीतिक दलका स्थानीय नेताहरू साथै सरोकारवालाहरूको सहभागिता थियो।

