त्रिशुली नदीमाथि जिपलाइन सञ्चालन गरेर लोकप्रिय बनेको त्रिशुली रिभरफन रिसोर्ट पछिल्लो समय साहसिक पर्यटनको हबका रुपमा विकास भईरहेको छ।

साहसिक पर्यटनका लागि रिसोर्ट प्रसिद्ध बन्दै गइरहेको हो। पृथ्वी राजमार्गसँगै जोडिएको यस रिसोर्ट पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूका लागि साहसिक पर्यटनको गन्तव्यको रुपमा परिचित छ।

पछिल्ला समय साहसिक पर्यटनको प्रवर्द्धन गर्दै यस रिसोर्टले विभिन्न किसिमका साहसिक खेलहरू सञ्चालन गरिरहेको छ।

जीपलाइन
रिसोर्टले शुरूवाती समयदेखि नै साहसिक खेलअन्तर्गत त्रिशुली नदीमा र्‍याफ्टिङ तथा नदीमाथि जिपलाइन सञ्चालन गरिरहेको छ। पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टार स्थित रिसोर्टसम्म पुग्ने ५ सय ५८ मिटर लामो ‘रिभर फन जिपलाइन’को अधिकांश भाग त्रिशूली नदी माथि पर्छ। जीपलाइन गर्दै गर्दा त्रिशुली नदीमा पानी बगिरहेको दृश्यले झनै रोमाञ्चक बनाइदिन्छ।
जिपलाइन खेल्न प्रति व्यक्ति नेपालीका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने छ। फोटो भिडियोको अतिरिक्त ५ सय रुपैयाँ लाग्नेछ।

स्काई साइक्लिङ
स्काइ रोप साइक्लिङ रिभर फन रिसोर्टको अर्को आकर्षण हो। रोपमाथि साइकल चलाएर मज्जा लिन सकिने यस खेल रिसोर्टमा अत्याधिक रुचाइएको खेल हो। स्काइरोप साइक्लिङमा २ वटा ट्रयाक भएकाले एकैसाथ जोडिले खेल्न मिल्छ। दुई तर्फी दुरी तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति सात सय रुपैयाँ र फोटो भिडियोको लागि थप पाँच सय लाग्छ।

क्यानोपी वाक
रिसोर्टमा क्यानोपी वाक पनि रहेको छ। साहसिक पर्यटकका लागि निकै रुचीको खेल हो यो। करिब एक सय मिटरको क्यानोपी वाक गरेर मिनी जीपलाइन गर्ने र जीपलाइनपछि स्काईरोप साइक्लिङ गर्ने गरि तीन खेललाई कम्बाइन्ड गरिएको छ। यी तीन वटै खेल एकैपटक खेल्नका लागि करिब १ हजार ५ सय रुपैयाँको प्याकेज रहेको कम्पनीका प्रवन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए। विदेशी नागरिकका लागि भने २० डलर शुल्क लिने गरिएको उनको भनाइ छ।

वाल क्लाइम्बिङ
वाल क्लाइम्बिङ विशेष गरि पिक क्लाइम्बिङ वा रक क्लाइम्बिङ गर्नका लागि पूर्वतयारी स्वरुप गरिन्छ। भित्तामा चढ्ने यो खेल साहसिक खेलहरूमा निकै रुचाइएको खेल हो। रिसोर्टले वाल क्लाइम्बिङ शुरू गरेर यसलाई ट्रेनिङ सेन्टरको रूपमा विकसित गरिरहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए। उनले भने,‘वाल क्लाइम्बिङ कसरी माथि जाने, कसरी चढ्ने भन्ने जान्नका लागि पनि र रक क्लाइम्बिङको तयारीस्वरुप गर्न सकिन्छ।’

वाल क्लाइम्बिङका लागि अहिले प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ शुल्क कायम गरिएको छ। वाल क्लाइम्बिङका लागि करिब ४५ फिटको भित्तोलाई तयार पारिएको छ।

मोटर बोट
त्रिशुली नदीमा मोटर बोटमा शयर गरेर मज्जा लिन चाहेका लागि रिसोर्टले मोटर बोट पनि राखेको छ। रिसोर्टबाट करिब ३ किलोमिटर दूरीसम्म मोटरबोटमा शयर गर्न सकिनेछ। यसको शुल्क ५ सय ५० रुपैयाँ तोकिएको छ। करिब ५ मिनेटमा नदीमा मोटरबोटमा शयर गरि रिसोर्टमै फर्किन सकिन्छ।

साहसिक खेल भएकाले यसमा सुरक्षाका मापदण्डहरू कम्पनीले तय गरेको छ। रिसोर्टमा पुगेकाहरूमध्ये ९५ प्रतिशतले मोटरबोटमा चढ्ने गरेको अधिकारी बताउँछन्। असार, साउन र भदौमा भने मोटरबोट सञ्चालन गर्ने गरिएको छैन। वर्खा सिजन सकिएपछि अरु महिनामा भने मोटरबोट सञ्चालन गर्ने अधिकारीको भनाइ छ।

र्‍याफ्टिङ र क्यानोनिङ
रिसोर्टले त्रिशुली नदीमा र्‍याफ्टिङ र जलविरेमा क्यानोनिङ समेत गराउँदै आइरहेको छ। रिसोर्टबाट करिब १५ किलोमिटर चितवनतर्फ रहेको जलविरेमा क्यानोनिङ गर्ने तथा त्रिशुली नदीमा र्‍याफ्टिङको मज्जा लिनका लागि रिसोर्ट उत्तम माध्यम बनेको छ। २ सय मिटरको लम्बाईमा रहेको क्यानोनिका लागि तीन सेक्टर छुट्टाइएको छ। करिब ३ घण्टामा तीन सेक्टरमा क्यानोनि गर्न सकिन्छ । एक दिन र्‍याफ्टिङ गर्ने, रिसोर्टमा बास बस्ने र भोलिपल्ट जलविरेमा क्यानोनिङ गर्ने गर्न सकिन्छ। यसबाहेक रिसोर्टमा बास बसेर सिधै क्यानोनिङ गर्न पनि सकिन्छ। क्यानोनिङका लागि प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ शुल्क पर्नेछ । न्यूनतम ४ जनाको टिम भएमा क्यानोनिङ गर्न सकिने रिसोर्टका प्रवन्ध निर्देशक अधिकारी बताउँछन्। र्‍याफ्टिङ सहितको क्यानोनिङ प्याकेजका लागि न्यूनतम ४ जनाको समूहलाई ७ हजार १ सय रुपैयाँ प्रतिव्यक्ति शुल्क पर्न जाने उनले बताए।

यसबाहेक एडभेञ्चर हबको रुपमा विकास भएको रिभरफन बिच रिसोर्टमा नयाँ नयाँ साहसिक खेलहरू सञ्चालनमा ल्याइने सञ्चालक अधिकारीले बताए। उनी भन्छन्,“रिसोर्टमा आएपछि कोही पनि यो खेल छुट्यो भन्नु पर्ने अवस्थामा हुनेछैनन् भन्ने गरि हामी काम गरिरहेका छौँ।