आइतबार, ३१ असार २०८०
दोलखा । नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको छ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिएका छन।
हिजो शनिबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले मिटरव्याजबारे सरकारले आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने सरकारको यस छलकपट र द्वैध भूमिकाको पार्टी भर्त्सना गरेको छ। बैठकले सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन पार्टी सरकारको ध्यानाकर्षण गराएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार बैठक बसिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले सभामुख देवराज घिमिरे, कांग्रेसका नेताहरू र कानुनमन्त्री धनराज गुरुङलाई भेटेर उक्त विधेयक अघि बढाउन सुझाव दिएका थिए। सोही सहमति अनुसार एमालेले सो विधेयक पारित गर्न सहयोग गर्ने भएको हो। यो विधेयक ल्याउनुपर्छ भनेर हामीले पहिलेदेखि नै भनेका हौ। तर सरकारले यसमा सारै ठुलो हेलचेक्राई गर्यो। प्रक्रियामा पनि हेलचेक्राई नै गर्यो तर जे भए पनि हामी यसलाई अड्काउने पक्षमा कहिल्यै छैनौ’, नेता नेम्वाङको भनाइ छ। नेता नेम्वाङले आइतबार बिहान अध्यक्ष ओलीसँग समेत छलफल गरेर उक्त विधेयक अड्काउन नहुने धारणा राखेका थिए।
© 2025, Online Bulletin