आइतबार, १३ फागुन २०८०, दोलखा। आजदेखि देशभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ।
सरकारले आजदेखि आगामी चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप दिने भएको हो। जाजरकोट र रुकुमपश्चिमबाहेक देशका ७५ जिल्लामा यो अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट खोपको मात्रा प्रदान गरिने भएको छ। अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंमसेवक गरी करिब १० हजार जनशक्ति खटाइनेछ। स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाका अनुसार करिब एक महिनासम्म सञ्चालन हुने अभियानका लागि सरकारले ४८ हजार ७ सय ९८ वटा खोप केन्द्र तोकेको छ।
खोप शाखाका प्रमुख डा. अभियान गौतमले बढी जोखिममा रहेका २४ जिल्लामा भने विद्यालयबाट खोप दिइने बताएका छन। उहाँले दादुरा रुबेला संक्रामक र प्राणघातक रोगहरु भएकाले बालबालिकालाई अनिवार्य खोप लगाउन आग्रह समेत गरे। सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य लिएको छ। गत वर्ष २१ जिल्लामा फैलिएको दादुराबाट १ हजार ३ सय ४९ जना संक्रमित भई १ जनाको मृत्यु भएको थियो।
