२० श्रावण २०८०, शनिबार
दोलखा । केहि समय अघि काठमाडौं जिल्लाको कालिमाटिमा गोलभेडाको भाउ नआएको भनि फालिएको अर्थाथ डेढ महिना अघि भाउ नपाएको भन्दै बजार, सडकदेखि किसानको बारीमै फालिएको गोलभेंडाको बजारमा अभाव देखिएको थियो। भारतमा निर्यात, गोलभेडाको सिजन सकिँदै जानु र बजार नपाएको समयमा किसानले बोट नै काट्दा बजारमा गोलभेंडा अभावसँगै महँगिएको छ।

गत महिना असार ३ गते कालिमाटी चोक सहित फलफूल तथा तरकारी बजार परीसरमा सवारी साधन नै गुड्न तथा मानीसको आवत जावत गर्न नै समस्या हुनेगरि गोलभेंडा मिल्काइएको थियो। गोलभेंडाको थुप्रो हटाउन एस्काभेटर नै प्रयोग गर्नुपर्यो। भारतीय गोलभेंडाले राम्रो मूल्य पाउँदा नेपाली गोलभेंडा बिक्री नै हुन छाडेपछि त्यसबेला किसानले सडकमा फालेर विरोध जनाएका थिए।

त्यसको डेढ महिना पछि यहि कालिमाटी तरकारी बजारमा गोलभेंडा पाउन मुस्किल भएको छ। बजारका प्राय थोक तथा होलसेल पसलमा गोलभेंडा नै छैन, भएका पसलहरुमा पनि निकै थोरै मात्रामा छ। त्यसमाथि पनि निकै महँगो।

डेढ महिना अघि न्यूनतम प्रतिकिलो ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ रहेको नेपाली गोलभेंडाको भाउ प्रतिकिलो १ सय ६० देखि १ सय ८० सम्म पुगेको छ। त्यस्तै, टनेलको गोलभेंडा १ सय २२ रुपैँया किलो सम्म पुगेको छ।

उपभोक्तासम्म पुग्दा अझ बढी भाउ बढ्ने गरेको छ। भारतमा पनि अहिले नेपाली गोलभेंडाको माग उच्च रहेकोले निर्यात हुँदै आएको छ। त्यस्तै, गोलभेंडाका लागि यो अफ सिजन भएको, कतिपय किसानले गोलभेंडा उत्पादन नभएपछि उखेलेर अर्को खेती गर्दा पनि बजारमा गोलभेंडाको भाउ बढ्नुका साथै अभाव भएको हो।

हाल कालिमाटी बजारमा दैनिक ४० टन सम्म गोलभेंडा आइरहेको छ भने बजारमा ६५ टन सम्मको माग हुने गरेको छ। अहिले काठमाडौंमा बिक्री भइरहेको गोलभेंडा उपत्यकाकै उत्पादन रहेको व्यापारी बताउँछन्।

यता, थोरै उत्पादनको भएपनि गोलभेंडाको राम्रो भाउ पाउँदा किसान खुसी भएका छन्। हुनत उत्पादन बढ्दा भाउ घट्ने र उत्पादन घट्दा भाउ बढ्ने त हुन्छ नै। तर, कृषिलाई आधुनिकी करण गर्न नसक्दा कृषक भाग्य भरोसामा पर्ने गरेका छन भने अपभोक्ता अनिश्चित मार खेप्न बाध्य छन्।