गोकुलगंगाको मायाको चिनो ‘गोर्खाली’ खुकुरी


कृष्ण बुढाथोकी

शनिबार, ०९ भदौ २०८०, दोलखा । सामान्यतया भेटघाट, स्वागत र विदाईको बेला उपहार प्रदान गरिन्छ। उपहार प्रदान गर्ने शैली पनि फरक–फरक व्यक्ति, संघसंस्था र कार्यालयहरुको फरक–फरक नै हुन्छ। त्यस्तै उपहार प्रदान गर्ने फरक तरिका छ, गोकुलगंगा गाउँपालिकाको।

संघसंस्था, सरकारी तथा नीजि कार्यालयहरुले विशेषगरी उपहारमा पुष्प गुच्छा, फ्रेम लगायतको उपहार प्रदान गर्ने गर्छन्। तर, पछिल्लो समय उपहारको स्वरुपमा परिवर्तन भएको छ।

रामेछापको गोकुलगंगा गाउँपालिकाले आफ्नो पालिकामा फरक तरिकाले स्वागत र सम्मान गर्ने चलन बसालेको छ। सो गाउँपालिकाले उपहारमा खुकुरी प्रदान गर्ने गरेको छ। पालिकाले पालिकामा आउने विशिष्ट पाहुना हुन् वा कर्मचारीको विदाई तथा सम्मान कार्यक्रममा होस, उपहार स्वरुप गोर्खालीको पहिचान खुकुरी प्रदान गर्ने गरेको छ।

विहिबार मात्रै गोकुलगंगा गाउँपालिकाले दुई कर्मचारीलाई विदाई गरेको छ। विदाईको क्रममा पालिकाले उपहार स्वरुप खुकुरी प्रदान गरेको छ। पालिकाका उपाध्यक्ष उषादेवी कार्की लगायतका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा लगायतले गोकुलगंगाबाट सरुवा भएर जाने लेखा अधिकृत राजन प्रसाद गुरागाई र इन्जिनियर अर्जुन प्रसाद उपाध्यायलाई मायाको चिनो खुकुरी प्रदान गरेर विदाई गरेका छन्।

गत आर्थिक वर्ष पालिकाको प्रशासनिक भवन उद्घाटन र शिलान्यास कार्यक्रममा पनि प्रमुख अथितिका रुपमा आएका नेपाली कांग्रेसका नेता एवम् सांसद इन्द्र बानियाँलाई उपहार स्वरुप खुकुरी दिइएको थियो। गोर्खालीको पहिचान र स्थानीय उत्पादनलाई प्रोत्साहनको लागि स्थानीयले उत्पादन गरेका खुकुरीलाई उपहार स्वरुप प्रदान गर्ने गरिएको पालिका अध्यक्ष काजी बहादुर खड्का दिनेशले जानकारी दिए।

उपहारका लागि बाहिरी अन्य चिजमा खर्च गर्नुको सट्टा स्थानीयस्तरमै निर्माण हुने खुकुरी खरिद गरि उपहार दिने गरेको पालिकाले जनाएको छ।

सम्बन्धित खबर