शुक्रबार, १२ असोज २०८०, दोलखा। दोलखाको पर्यटकीयस्थल शैलुङमा आजदेखि ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम सुरु भएको छ।

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रमको आयोजना गरेको हो। हिजो विहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको छ। उद्घाटनपछि २०० भन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो। सो कार्यक्रममा देशका नाम चलेका कलाकारहरु सहभागी हुनेछन्। हिजो मात्रै विश्व पर्यटन दिवशको अवसरमा क्यानडा, फ्रान्स र स्वीजरल्याण्ड लगायतका देशबाट २२ जनाको टोली शैलुङ क्षेत्रमा पुगेका छन्। शैलुङ घुम्न आएका ती विदेशी पर्यटकहरुलाई शैलुङ गाउँपालिकाले स्वागत गरेको छ। पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ र उपाध्यक्ष पार्वती कार्की थापा लगायतले पालिकामा स्वागत गरेका थिए। पर्यटन दिवशको अवसरमा आएका उनीहरु हिजो, आज र भोलीसम्म शैलुङमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको शैलुङ प्रवद्र्धनका लागि कलाकारहरु पनि जुट्ने भएका छन्। पर्सिसम्म जारी रहने कार्यक्रममा कलाकारहरु निखिल उप्रेती, विजय लामा, प्रेमराजा महत, गरिमा शर्मा, यशकुमार, सन्दीप क्षेत्री, लेखक बुद्धिसागर लगायतले सहभागिता जनाउने छन्। शनिबारसम्म हुने कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका प्रतिनिधि पनि सहभागि हुने कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए।

कलाकार सहितको टोलीले बिहिबार बिहान काठमाडौँदेखि सैलुङको लागि यात्रा सुरु गरेका छन्। भोली शुक्रबार चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको तयारी छ। कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्य पत्ता लगाउने इच्छा भएका सहभागीले भाग लिनेछन्। साहसिक पर्यटनको क्षेत्रमा समेत काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ। गत वर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार गरेर सुरु भएको एड्भेन्चरको दोस्रो संस्करण शैलुङ र शैलुङ क्षेत्रमा पाइने चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो। यो कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन गर्ने रहेको आयोजकले जनाएको छ।

शैलुङडाँडा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३४ सय मिटर अग्लो स्थानमा रहेको छ। शैलुङ दोलखाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ। जहाँ जनैपूर्णिको दुई दिन अघि भव्य मेला लाग्ने गर्दछ।

साथै नयाँ वर्ष, बालाचतुर्दशी, बारवर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ। शैलुङडाँडा १०८ वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको छ।