काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएको छ।

सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताएका हुन्।

यस्तै महानगरको आर्थिक ऐन, २०८० ले समेत यस्तो व्यवस्था गरेको उनले बताएका छन्।

‘बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङवापतको शुल्क संकलन गर्न निषेध गरिएको छ,’ उनले भनेका छन्, ‘सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिनेछ।’

यस्तै व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको उनले बताएका छन्।

तर पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनले पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरे कारवाही गरिने उनले उल्लेख गरेका छन्। त्यस्ता स्थानबाट सम्पति करसहित सम्बन्धित अन्य कर असुल गरिने जनाएका छन्।

मेयर बालेनका अनुसार सार्वजनिक सडकमा भने पार्किङ गर्न पाइने छेन।

‘सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन,’ उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिका आफैंले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएवापत निश्चित सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिनेछ।’