नेम्वाङको निधनबाट नेपाली राजनीतिका लागि ठूलो क्षति भयो : गृहमन्त्री श्रेष्ठ


कृष्ण बुढाथोकी

मंगलबार, २६ भदौ २०८०, दोलखा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन्। नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका श्रेष्ठले नेम्वाङको निधन नेपालको राजनीति र समाजका निम्ति अत्यन्त ठूलो क्षति भएको बताए।

नेम्वाङ संसदीय अभ्यासमा सिद्धहस्त नेता पनि भएको श्रेष्ठले बताए। कुनै जटिलता आए खोजी गर्ने र निकास दिने गर्नुहुन्थ्यो। पछिल्लो पटक जब मिटरब्याजीसम्बन्धी विधेयक जटिल अवस्थामा पुगेको थियो। त्यसलाई संसदबाट पारित गरेर कानुन बनाउने दिशामा निर्णायक भूमिका खेल्ने काम उहाँबाट नै भएको थियो, उनले सम्झिए।

नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले नेम्वाङलाई सदा स्मरण गरिरहने गृहमन्त्री श्रेष्ठले बताए। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो।

सम्बन्धित खबर