नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले ८३ करोड साँवा ब्याज भुक्तानी गरेको छ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका जहाजको २०८० वैशाखदेखि असार मसान्तसम्मको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ऋण भुक्तानी गरेको हो।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई वाइडबडी र दुई न्यारोबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको पछिल्लो किस्ता भुक्तानी गरेको हो। निगमले यसअघि पनि २०७९ असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको छ।

वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि व्यापार विस्तार र आम्दानीमा भन्दा सुधार हुँदै गएको निगमको दाबी छ। नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले जनाएको छ।

विभिन्न निकायका पुराना वक्यौता रकम तिरिएको छ तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आएको निगमले दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी खरिद गर्ने कार्ययोजनासमेत तीव्र गतिमा अघि बढाएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए।