विहीबार, ११ साउन २०८०, दोलखा ।

साउनको ३ गतेदेखि देशकै हटकेक समाचारको रुपमा छाइरहेको सुनकाण्डको नाइकेका रुपमा चित्रित गरिएका दोलखाका दिलिप भुजेल वास्तवमै सो काण्डका सक्कली पात्र हुन वा होइनन्, अनुषन्धानका क्रममा भविष्यमा पत्ता लाग्दै जाला।

तर सम्पत्तीको नाममा करिब ३ रोपनी जग्गा र एउटा झुप्रो घर भएको, अनि सालभर खान लाउनै धौधौ हुने निम्नवर्गिय परिवारको २१ वर्षिय ठिटो सयौँ किलो सुन तस्करी गरेको आरोपमा प्रहरीको छिँडीमा जाकिएको छ।

राजधानीमै मजदुरी गर्ने बाबुको साथ लागेर कमाउन गएको छोरो एकाएक सुनकाण्डमा जोडिएर प्रहरी हिरासतमा पुगेपछि दोलखाको मेलुङ १ स्थित बिसौना टोलमा रहेकी आमा कल्पनाको आँखामा आँशु रोकिएको छैन।

‘गरिबी र अभावसँग खेलेर मेरो छोरोलाई कुन पापीले फसायो,’ अनलाइन बुलेटिनसँग बिलौना गर्दै आमा कल्पना भन्छिन्, “एक तोला सुन देख्न धौधौ हुने छोरोले तेत्रो सुन ल्याको भनेर कसरी पत्याउनु।’

हुन पनि दिलिपको घर छानो समेत लगाउन नसकेर प्लाष्टिक ओढाएर राखिएको छ। घरको अरु अवस्था पनि दयनीय नै छ।

आफ्नो जग्गाले मात्रै नपुगेर अरुको जग्गालाई अधियामा कमाएर जीवन गुजारा गर्ने परिवारको जेठो छोरो दिलिप विवाह गरेपछि गत वर्षदेखि कमाउन भनी राजधानी छिरेका थिए।

सुरुमा इटाभट्टामा काम गरेको दिलिप पछिल्लो समय काठमाण्डौँको साँखुस्थित आफन्तको चाउचाउ कारखानामा काम गर्न थालेका थिए। सँगै काम गर्ने उनकी श्रीमती प्रमिला वर्षे खेतीका लागि सघाउन गाउँ आएकी थिइन्।

विगत लामो समयदेखि काठमाडौंमै मजदुरी गर्दै आएका दिलिपका बाबु यतिबेला छोराको अवस्था बुझ्नका लागि दिनहुँ प्रहरीको ढोका कुर्न बाध्य छन्।

दिलिपको आमा र श्रीमती

दिलिपले कम्पनी खोलेर त्यति ठूलो मात्रामा सुन भित्र्याएको कुरामा छिमेकीहरू पनि विश्वस्त छैनन्।

स्थानीय शोभित प्रसाद उप्रेती ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारका दिलिपले सुन ल्याए भन्दा आफुहरुलाई पत्याउन मुश्किल परेको बताउँछन्।

तर, उनै दिलिप भुजेलको नामबाट खुलेको रेडि ट्रेड प्रालि नामक कम्पनीबाट स्कुटरको ब्रेक शु लगायत सामानको रुपमा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सयौँ किलो सुन छिर्नै लाग्दा राजश्व अनुसन्धान विभागले दिलिप सहित उनका मामा राम कुमार भुजेल लगायतलाई सुनसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यसरी खान लाउनै धौधौ पर्ने एउटा सामान्य गरिब परिवारको एक युवकको नाममा कसले कसरी कम्पनी खोलेर अरबौँको सुन कारोबार गर्यो। त्यो छानबिनकै विषय होला।

यद्यपी पत्यार नलाग्ने यस्तो खालको घटनाबाट वास्तविक दोषी उम्कन सक्नेतर्फ भने विभाग र प्रहरी चनाखो हुन जरुरी छ।

स्मरण होस्, यसअघि पनि दोलखाकै तामाकोशी गाउँपालिकाका एक जना माझी थरका व्यक्तिको नाममा कम्पनी स्थापना गरी करोडौँको राजश्व छली गरेको विषय प्रहरीले ह्याण्डल गरेको थियो।