नेपाल धितोपत्र बोर्डले १ ब्रोकर सहित २ कम्पनीलाई कारबाही गरेको छ।
बोर्डले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लि. र श्री कृष्ण सेक्यूरिटिज लिमिटेड (ब्रोकर नम्बर २८) लाई कारवाही गरेको हो ।
बोर्डले सम्पन्न क्यापिटललाई १० लाख जरिवाना गरेको हो।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन,२०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ.को उपदफा (१) को खण्ड (ख) बमोजिम सम्पन्न क्यापिटललाई दश लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ।
त्यस्तै बोर्डले श्री कृष्ण सेक्यूरिटिजलाई ५० हजार जरिवाना गरेको हो।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २६ को उपनियम (३) मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्था विपरित शेयर हस्तान्तरण गराएको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम श्री कृष्ण सेक्यूरिटिजलाई पचास हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ।