मंगलबार, २३ साउन २०८०, दोलखा । नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफुहरु विश्वस्त नभएको बताएका छन्।
हिजो सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गरेका थिए।
उहाँले आफुहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति नै विश्वास नभएको र प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको साथै उहाँले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका थिए।
उहाँले राजनीतिक रुपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताए। उहाँले करोडौँ रुपैयाको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको जानकारी दिएका छन। लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उहाँले टिप्पणी गरे।