गृहमन्त्री श्रेष्ठ भन्छन्- सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीलाई नै गर्न दिऔँ


अनलाईन बुलेटिन संवाददाता

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबीलाई गर्न दिन आग्रह गरेका हुन्।

उनले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान सकेर दोषिलाई कानूनी दायरामा ल्याउने बताए। उनले सिआइबिले अपराधि लुकाउने र्दुनियत देखायो भने मात्र छानबिन समिति बनाउने विषयमा छलफल गर्न सकिने बताए।

विगतमा बनाइएको संसदीय छानविन समितिले हराएको सुन भेट्टाउन नसकेको तथा समितिको प्रतिवेदन समेत कार्यान्वयन नभएको भन्दै उनले राज्यको संयन्त्रलाई नै अनुसन्धानको जिम्मेवारी दिनुपर्ने बताए। गृहमन्त्री श्रेष्ठले सरकारले दोषिलाई पहिचान गरी कारबाही प्रक्रियामा ल्याइ छाड्ने भन्दै त्यसको निम्ति सकारात्मक वातावरण बनाइदिन आग्रह गरे।

मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्ने सन्दर्भमा राष्ट्रिय सहमती गर्नुपर्ने बताए । उनले तस्करहरुलाई कारबाही गर्न एकतावद्ध हुन सबैमा आग्रह गरे ।

सम्बन्धित खबर