बुधबार, २४ साउन २०८०, दोलखा । काठमाडौँको तारकेश्वर नगरपालिकाबाट नक्कली नोटको साथमा रामेछापका एक सहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका १ का मदन दमाई, खोटाङ दिपु्रङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे र लमजुङ दोर्दि गाउँपालिका २ का सुवास गुरुङ रहेको प्रहरीले जनाएको हो। तारकेश्वर ५ स्थित गोलढुंगा नगिनी खोला अगाडिबाट हिजो साँझ सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको डेराबाट नेपाली रुपैयाँ एक हजारको १ सय ८१ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर ल्याएको आशंका छ। उनीहरुलाई बरामद भएको सामानसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाएको प्रवक्ता थापाले बताए।