विहीबार, २५ साउन २०८०, दोलखा । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा.सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताए।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन। उनले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताए।
प्रमुख सचेतक लेखकले संसद चलिरहेको बेलामा कुनै पनि पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनु पर्ने र त्यसबारेमा सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताए। उनले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइए पनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन्, के छानबिन गर्ने कुरा हो, यसमा आधिकारिक जानकारी लिएपछि मात्रै काँग्रेसले आफ्नो धारणा बनाउने बताए।
प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रवार बस्ने संसदीय दलको बैठकबारे एजेण्डाहरु तय गर्नुका साथै त्यसको पूर्व तयारीको बारेमा छलफल भएको बताए। कार्यसमितिको बैठक बस्यो। संसद कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने, बजेट कसरी प्रभावकारी कार्यन्वयन गर्ने भन्ने सन्दर्भमा सदनमा रहेका विचाराधिन विधेयक संसदमा ल्याउने कुरामा शुक्रबार बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताए। कांग्रेस सदनको अवरोध चाँडो भन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको बताए।