
काठमाडौं, पुस २२
ऊर्जा मन्त्री कुलमान घिसिङले आफूले अहिलेसम्म कुनै पार्टीको सदस्यता नलिएको बताएका छन् ।
मंगलबार ललितपुरमा इन्जिनियरहरूसँगको अन्तरक्रियामा मन्त्री घिसिङले आफूले कुनै पार्टीको सदस्य नलिएको प्रष्ट पारेका हुन् ।
घिसिङको अगुवाइमा उज्यालो नेपाल (उनेपा) पार्टी गठन भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेको छ। रास्वपा सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए । सहमतिमा हस्ताक्षर गर्दा घिसिङ पनि उपस्थित थिए ।
दुई पार्टीको सहमतिअनुसार घिसिङ रास्वपाका वरिष्ठ उपसभापति बनेका छन् । त्यसलाई लिएर राजनीतिक दल र नागरिक समाजबाट उनले सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।
यस विषयमा सोधिएको प्रश्नमा घिसिङले आफूले कुनै पनि पार्टीको सदस्य नलिएको स्पष्ट पारेका हुन्।
