सोमबार, २५ भदौ २०८०, दोलखा। काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनु पर्ने बताएका छन्।
११० औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्।
उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे। उनले अबको ४ वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइ सक्ने बताए।
उनले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनु पर्ने बताए। उनले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको समेत उल्लेख गरेका छन्।
मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताए। उनले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनु पर्ने बताए। उनले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। उनले शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने बताएका छन्।
अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनु पर्ने जिकिर गर्छन्।
