काठमाडौं, माघ १४

नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि मंगलबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

उक्त दिन सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँ पुगेको छ ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला नौ हजार पाँच सय रूपैयाँ महँगो हो । यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार तोलामा ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार सात हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ३० रूपैयाँ बढेको हो ।