शुक्रबार, २६ साउन २०८०, दोलखा । लम्पी स्किन रोगका कारण एकैपटक पाँच वटा पशु मरेपछि दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका कृष्णबहादुर खड्काको गोठ नै रित्तो भएको छ।
एक हल गोरु, एउटा व्याउने गाई, एउटा दुहुनो गाई र त्यसको बाछो दिन विराउँदै, मरेपछि उनको गोठ अहिले रित्तो छ। एक वर्षअघि ६५ हजारमा रामेछापबाट किनेर ल्याएको गाई गत फागुनमा व्याएपछि कृष्णबहादुरले दुध बेचेर जीविकोपार्जन गर्दै आएका थिए। दैनिक ६ लिटरका दरले दुध बेच्दा मासिक १२ हजारसम्म आम्दानी हुने गरेको थियो। तर, दुध बेचेर जीविकोपार्जन गर्ने उनको सपना यतिबेला टुटेको छ। कृष्णबहादुर भक्कानिँदै भन्छन् ‘रोगका कारण गोठ नै रित्तो भएपछि केही गर्ने जाँगर चलेको छैन।’ आफ्नो गोठ रित्तिएर लाखौंको क्षति हुँदा स्थानीय सरकारबाट कुनै राहत नपाएको खड्काको गुनासो छ। गाउँपालिका र वडापालिकाले ‘धेरैका पशु मरेका छन् राहत दिएर के साध्य’ भन्ने जवाफ दिएपछि उनलाई झन् पीडाको महसुस भएको छ।
यस्तै समस्यामा छन् कालिञ्चोक गाउँपालिकाका किसान राजु शिवाकोटी पनि । कालिञ्चोक गाउँपालिका–७ सिमश्वाँरा ढुंगेका शिवाकोटीले ६ महिना अघि एक लाखमा दुहुनो गाई किनेका थिए। गत माघमा उनले किनेको गाईले दैनिक १५ लिटर दुध दिन्थ्यो। दुध बेचेर शिवाकोटीले दैनिक ८ सय रुपैँया आम्दानी गर्ने गरेका थिए। तर, उनको दुध बेचेर आम्दानी गर्ने सपना अहिले टुटेको छ। किनकी शिवाकोटीको दुहुनो गाई लम्पी स्किनका कारण मरेको छ। एक लाखको लगानी माटोमा मिलेको शिवाकोटीले बताएका छन्। उनी भन्छन् ‘गाई त मयो, ब्याउने भैंसी पनि यो रोगका कारण निकै विरामी परेपछि चिन्तित छु। ’
दोलखामा लम्पी स्किन रोगका कारण पशुहरु धमाधम मर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्नु परेको छ। यसरी ठूलो क्षति व्यहोरेर किसानहरु दर्दनाक पीडामा हुँदा पनि उनीहरुले क्षतिपूर्ति पाउन सकेका छैनन्। किसानहरुले पशु मरेर यति ठुलो पीडामा रहँदा कुनै निकायबाट मलम पट्टी नपाएको गुनासो गरेका छन्। संघीय सरकार, प्रदेश र स्थानीय सरकारले वास्तविक किसानलाई वेवास्ता गरेको उनीहरुको गुनासो छ।
मेलुङ गाउँपालिका–५ का बावुराम कार्कीले पनि दुई वटा गाई लम्पी मरेपछि आफु तनावमा रहेको गुनासो गर्नुभयो। भीमेश्वर नगरपालिका–२ राम्पाकी सरस्वती सुवेदीको पनि व्याउने गाई यही रोगका कारण मरेको छ। यी त प्रतिनिधिमुलक घटना मात्रै हुन्। दोलखामा लम्पी स्किन रोगका कारण २१ हजार बढी पशु संक्रमित बनेका छन् भने ६ सय पशु मरिसकेका छन्। यो रोगका कारण पशुहरु धमाधम मर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ। एउटा पशुको सरदर मुल्य ५० हजार मात्रै राख्दा पनि ६ सय पशु मर्दा किसानले ३ करोड बढीको नोक्सानी व्यर्होनुपरेको छ।
अझै जिल्लामा लम्पी स्किन नियन्त्रण बाहिर रहेकाले किसानले यो भन्दा बढी क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्छ। यसरी ठूलो क्षति व्यहोरेर किसानहरु दर्दनाक पीडामा हुँदा पनि उनीहरुले क्षतिपूर्ति पाउन सकेका छैनन्। किसानहरुले पशु मरेर यति ठुलो पीडामा रहँदा कुनै निकायबाट मलम पट्टी नपाएको गुनासो गरेका छन्। संघीय सरकार, प्रदेश र स्थानीय सरकारले वास्तविक किसानलाई वेवास्ता गरेको उनीहरुको गुनासो छ।