पछिल्लो समय मुलुकभर आँखा पाक्ने रोगको प्रकोप बढेको छ। यसको प्रकोप बढेसँगै देशका विभिन्न ठाउँका विद्यालयहरू बन्द हुन थालेका छन्।
रामेछाप सदरमुकाम मन्थलीका अधिकांश विद्यार्थी र शिक्षकहरुमा देखिएपछि मन्थली नगरपालिकामा रहेका ५ वटा विद्यालयको पठनपाठन बन्द गरिएको छ।
मन्थलीका विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेपछि जिल्लाको सबैभन्दा बढी विद्यार्थी संख्या रहेको मन्थली माध्यमिक विद्यालयले एकहप्ताको लागि पठनपाठन बन्द गराएको हो।
आँखा पाक्ने रोगले जोखिमको रूप लिएपछि १ हप्ता सम्मको लागि आजबाट बन्द गरिएको हो। मन्थली मा.वि.का प्रध्यानाध्यापक टंक प्रसाद दाहालका अनुसार ९ जना शिक्षक र ४ सय भन्दा धेरै विद्यार्थीहरुमा आँखा पाक्ने रोक देखा परेको छ। उक्त विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत छन्।
त्यस्तै मन्थलीका अन्य चारवटा निजि विद्यालयले भने साउन ३१ गतेसम्म तीनदिनको लागि विद्यालय वन्द गराएका छन्। जसमा तामाकोशी इङलिस वोडिङ स्कुल, कर्कलादेवी वोडिङ स्कुल, लिटिलस्टार इङलिस वोडिङ स्कुल र नर्मदेश्वर इङलिस वोडिङ स्कुलले तीनदिनको लागि विद्यालय बन्द गराएका हुन्। उनीहरुले विद्यालयमा आउने आधा भन्दा बढी विद्यार्थीहरुमा आँखा पाक्ने रोगको संक्रमण देखिएको भन्दै विद्यालय बन्द गरिएको छ।
