आइतबार, ०३ भदौ २०८०, दोलखा । गएको साउन १८ गते राती आएको पहिरोका कारण पिडित बनेका दोलखाको गौरीशङ्कर गाउँपालिका ७ र ८ का स्थानीयलाई परदेशी दोलखालीहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
रोजगारीका शिलशिलामा जापान र संयुक्त अरब ईमिरेट्स बस्ने दोलखालीहरुले कुल एक लाख ८५ हजार रुपैयाँ रकम उपलब्ध गराएका हुन्। दोलखा समाज जापानले पठाएको एक लाख ३५ हजार रुपैयाँ र दोलखाली समाज युएईले पठाएको ५० हजार रुपैयाँ शनिबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। सोमबार सदरमुकाम चरिकोटमा आयोजित एक समारोहका बीच नागरिक समाज, राजनीतिक दलका नेता, विभिन्न स्थानीय तहका प्रमुख, पत्रकार लगायतको रहोबरमा बागमती प्रदेश सभाका सदस्य भरतबहादुर केसीले गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको दोलखाली समाज युएईका संस्थापक उपाध्यक्ष पुष्करकुमार अधिकारीले जनतापेजलाई जानकारी दिए।
सो अवसरमा जनतापेजलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष कार्कीले गौरीशङ्करबासीको पिडामा मल्हम लगाउने जापान र युएईमा कार्यरत दोलखालीहरु प्रति धन्यवाद ज्ञापन गर्नुको साथै पिडितको आवश्यकता र प्राथमिकताका आधारमा सो रकमको सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।
