आइतबार, २८ साउन २०८०, दोलखा।
मेलुङ गाउँपालिका–१ का स्थानीयहरू जंगली जनावरबाट त्रसित भएका छन्। बाली जोगाउन मुस्किल भएको छ।
दिनको समयमा बादर र रातको समयमा जंगली जनावर धपाउन बारीमै बस्छन्। घोगा लाग्ने बेलाको अनबाली मकै जंगली जनावरले नष्ट गर्न थालेपछि गाउँका सबै किसान बारीमै दिनरात बिताउन बाध्य छन्।
केही वर्षअघिदेखि जंगली पशु र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनीहरू मारमा परकेा हुन्। जंगल क्षेत्रको विस्तारसँगै नजिक आउने जंगली जनावरले वर्षमा छ महिना खान पुग्ने मकै खेती सखाप पारेपछि अन्न खोज्नुपर्ने चिन्तामा किसामा छ।
‘जंगली जनावरले मकै सखाप पार्न थालेपछि जोगाउन बारीमै रातभर जागराम बस्नुपर्ने बाध्यतामा छौँ, वर्षमा छ महिना खान पुग्ने खेती बाँदर र अन्य जंगली जनावरले नष्ट गरेपछि अन्न बेसाउनुपर्ने भएको छ’ स्थानीय माइला न्यौपाने भन्छन्।
मेलुङ गाउँपालिकामा मात्र नभई दम्सी, मृग, बदेल र बाँदरले जिल्लाका धेरै ठाउँमा मकै खेती नष्ट गर्दै आएका छन्। कृषि विकास कार्यालय दोलखाका अनुसार यहाँका कयौँ स्थानीय तहमा जंगली जनावर र बाँदरले किसानको मकै खेती मात्र नभई अन्य खेतीमा समेत क्षति पुर्याएको छ।
दोलखाका सबै स्थानीय तहका सम्पूर्ण वडामा २१ हजार एक सय ७५ हेक्टरमा किसानले मकै खेती लगाउँदै आएको र पछिल्ला वर्षमा जंगली जनावरले किसानको बालीमा क्षति गर्ने गरेको स्थानीयवासीको भनाइ छ।
किसानको क्षतिमा हरेक स्थानीय तहका कार्यालयले पर्याप्त मात्रामा राहत उपलब्ध गराउन नसक्ने देखिन्छ। ‘अहिले मकै खेतीको समय हो। जंगली जनावरले र बाँदरले मकै खेतीमा क्षति पुर्याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न आम किसानसँगै सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ, कृषिले पर्याप्त राहत दिन सक्दैन कार्यविधि त्यही अनुसारको बनाईएको हुन्छ,’ उनले थप भने।
किसानको कति मकै खेतीमा जंगली जनावरले क्षति पुर्यायो भन्ने विवरण कृषि विकास कार्यालयसँग छैन।
‘कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले संकलन गरेको भन्ने छ। तर यर्थाथमा के छ, कता छ थाहा छैन। सम्बन्धित कार्यालयहरुले क्षतिको विवरण हेरेर बीउसम्म उपलब्ध गराउन सक्छ, कृषिको राहतभन्दा पनि अनुदान दिने अभ्यास छ’, अर्का स्थानीयले अनलाइन बुलेटिनसँग भने।
मेलुङ गाउँपालिकाका कृषि शाखा प्रमुखले एक वडामा पाँचदेखि सात रोपनी जग्गामा किसानले लगाएको मकैमा बादरले क्षति पुर्याएको जानकारी छ।
उनले गाउँपालिकाका सबै वडाबाट जङ्गली जनावरले मकैमा पुर्याएको क्षतिको विवरण संकलन गर्ने कामलाई तीव्रता दिएको बताए।
‘मकैबालीमा जंगली जनावर र बाँदरले पुर्याएको क्षतिको विवरण संकलनलाई तीव्रता दिएका छौँ। अहिलेसम्म गाउँपालिकाभित्र रहेका सबै १, २, ३, ४, ५, ६ र ७ वडामा बढी मात्रमा क्षति पुगेको पाएका छौँ। गाउँपालिकाले राहत दिने कुनै नीति बनाएको छैन। जंगली जनावरको नियन्त्रणतर्फ तीनै तहका सरकार लागि पर्नुपर्ने देखिन्छ’ गाउँपालिका प्रमुखले भने।
