संसद बैठकलाई हाइज्याक गरियो : रवि लामिछाने


कृष्ण बुढाथोकी

सोमबार, २९ साउन २०८०, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताएका छन्।

सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताए।

लामिछानेले संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताए। लामिछानेले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताएका छन्।

सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै लामिछानेले कसको लागि र किन त्यस्तो गरिएको हो भनि प्रश्न गरे। लामिछानेले सभामुखमाथि शंकाको घेरा देखिएको बताए।

सभापति लामिछानेले आफू आजको संसद बैठकमा विशेष कुरा बोल्ने महत्वपूर्ण तयारी साथ आएको भए पनि बोल्न नपाएको बताए। लामिछानेले योजनावद्ध रुपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरु प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताए।

त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आकस्मिक समयमा दुई जना सांसदलाई मात्रै बोल्न दिएर संसदमा अरुको उपस्थिति छैन भन्नेजस्तो नजिर बसाएका छन। लामिछानेले संसद दुई पार्टीको कब्जामा परेको बताएका छन्।

प्रमुख सचेतक परियारले सशक्त जनमत लिएर आएका नयाँ पार्टीहरुको अस्तित्व स्वीकार नगरिएको भन्दै दुःख व्यक्त गरेका छन्।

सम्बन्धित खबर