त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या देखिएपछि त्रिभुवन विमानस्थल १ घण्टा बन्द भएको छ।
धावनमार्गमा एयर इन्डियाको विमान रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ बजेर ५ मिनेटदेखि ५ बजेर १ मिनेटसम्म बन्द भएको हो।
मंगलबार अपराह्न उड्न लागेको जहाजको ब्रेकमा समस्या देखिएपछि विमान रन वेमै अलपत्र परेको थियो। जहाजमा १७९ जना यात्रु थिए।
एयर इन्डियाको २१६ जहाज दायाँ चक्का जाम भएर रन वेमै अलपत्र परेको हो। रनवेमा पुगेपछि जहाज घुम्न सकेको थिएन। रन वेमै जहाज अलपत्र परेपछि श्री एयरलाइन्सको २२४ जहाज भैरहवा डाइभर्ड गरिएको थियो भने बाँकी विमान आकाशमै होल्ड भएका थिए।
विमानको प्राविधिक परीक्षणपछि मात्र उडाउने-नउडाउने टुंगो लाग्ने विमानस्थल प्रशासनले जनाएको छ।
अहिले विमानलाई पार्किङ स्थलमा ल्याइसकिएको छ । जहाज हटाएपछि विमानस्थल पुन: सञ्चालनमा आएको छ।