सन नेपाल लाइफ इन्सुरेन्सले आज साउन ३२ गते बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गरेको छ।

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ।
यसमध्ये १०% अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ।

त्यस्तै, ५% अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५% (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ।