मंगलबार, ०५ भदौ २०८०, दोलखा । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरको आवेदन खोलेसँगै शेयरको मूल्यमा नसोचेको गिरावट आएको छ।

केही दिन अघि मात्रै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरको आवेदन खुलाएसँगै शेयर मूल्यमा गिरावट आएको हो। केही दिन अघिसम्म २ सय ३५ र २ सय ३४ रुपैंयामा कारोबार भएको कम्पनीको शेयर हिजो–आज प्रतिकित्ता २ सय १८ रुपैंयामा झरेको छ। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विजुली विक्री गरिरहेको कम्पनीको शेयरमा यति धेरै गिरावट आएको हो। यसअघिका वर्षहरुमा सो कम्पनीको शेयर कित्तामा ८ सय देखि हजारको हाराहारीसम्ममा कारोबार भएको थियो। तर, पछिलो समय ह्वातै घटेको छ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरन्तर घाटमा रहेको छ।

स्वदेशी लगानीमा निर्मित जलविद्युत आयोजनाले पछिल्लो दुई वर्ष यता निरन्तर विद्युत उत्पादन गरी विक्री गरिरहे पनि घाटा बर्सेनि वृद्धि हुँदै गएको छ। माथिल्लो तामाकोशीले गत आर्थिक वर्षमा मात्रै ८ अर्बको विक्री गरेको छ।