विहीबार, ०७ भदौ २०८०, दोलखा । दुवै मृगौला फेल भएर उपचाररत आफ्नो एक विद्यार्थीलाई दोलखाको कालिञ्चोक ३ स्थित कालिनाग माध्यमिक विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी १६ वर्षिया रोजिना श्रेष्ठको उपचारका लागि विद्यालयका शिक्षक र विद्यार्थीहरुबाट सङ्कलित ७१ हजार ५०५ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो। मङ्गलबार विद्यालयको प्रार्थना सभाको अवसरमा विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले मृगौला पिडित किशोरीका बाबु गोपाल श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक तेजबहादुर खत्रीले अनलाईन खबरलाई जानकारी दिए।
जिल्लाको विगु ४ स्थायी घर भएकी श्रेष्ठ विगत ६ वर्ष अघिदेखि मृगौला सम्बन्धी रोगबाट पिडित भइ राजधानी स्थित शिक्षण अस्पतालमा उपचाररत रहेकोमा निकट भविष्यमै मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ।
स्थानीय सिङ्गटी बजारमा सामान्य व्यवसाय गर्ने पिडित किशोरीका बाबु गोपालले हालसम्म छोरीको उपचारमा निकै रकम खर्च भएको र अब थप उपचारका लागि आर्थिक अभाव भएको गुनासो गरे। उनका अनुसार छोरीको मृगौला प्रत्यारोपणका लागि करिव २० लाख रुपैयाँ खर्च लाग्ने जानकारी अस्पतालले गराएको छ। श्रेष्ठ परिवारले आफ्नी छोरीको जिवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेको छ।