तुलसीपुरको टरीगाउँ विमानस्थलमा चार महिनापछि नियमित उडान हुने भएको छ।

यात्रु अभावका कारण बन्द भएको टरिगाउँ एरपोर्टमा साताको तीनदिन दाङ-काठमाडौं उडान हुने भएको हो।

नेपाल वायुसेवा निगमले ट्वीनअटर जहाजमार्फत सो विमानस्थलमा नियिमत उडान भर्ने भएको हो। यसअघि निगमले यात्रु नहुँदा नियमित उडान भर्न नसकेको भन्दै उडान प्रभावित भएको थियो। निगमको १९ सिटे ट्वीनअटर हप्तामा ४ दिन दाङ-काठमाडौं उडान भर्दै आएको थियो।

अब भने आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने नागरिक उड्डयन कार्यालय तुलसीपुरले जनाएको छ।

सातामा तीन दिन मात्रै उडान हुने भनिए पनि मौसम तथा अन्य कारणले गर्दा कहिलेकाहीं उडान प्रभावित हुन सक्ने कार्यालयका प्रमुखले बताए।

जिल्लामा नियमित उडान नहुँदा यात्रुहरु भैरहवा तथा नेपालगंज पुगेर काठमाडौं जानुपर्ने बाध्यता छ।