आइतबार, १० भदौ २०८०, दोलखा । तीन दिनपछि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान पहिलो वरीयताप्राप्त राष्ट्रको रूपमा सहभागी हुने भएको छ। अफगानिस्तानविरुद्दको शृङ्खला ३—०ले जितेपछि पाकिस्तान एक दिवसीय क्रिकेटमा पहिलो वरीयता प्राप्त राष्ट्र बनेको हो।

एसिया कप क्रिकेटको १६ औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिकसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल आगामी बुधवार पाकिस्तान र नेपालबीच मुल्तानमा खेलिने छ। एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो।

अफगानिस्तान विरुद्दको एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा पाकिस्तान ५९ रनले विजयी भएको थियो। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले ४८।४ ओभरमा अलआउट हुनु अघि दुई सय नौ रनमात्र बनाउन सक्यो।

अन्तिम खेलमा नसिम शाह र ह्यारिस रउफ पाकिस्तानी टोलीमा सहभागी थिएनन्। पाकिस्तानका लागि दुई खेलाडीले अर्धशतक बनाएका थिए। पाकिस्तानका लागि कप्तान बाबर आजमले ६० र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ६७ रन बनाएका थिए।

बलिङतर्फ पाकिस्तानका सदाब खानले तीन विकेट लिए। साहिन शाह अफ्रिदी, फाहिम असरफ र मोहम्मद नवाजले दुई—दुई विकेट लिएका थिए। एक दिवसीय वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा भारत रहेका छन्। एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ।

एसिया कप खेल्ने अन्य राष्ट्रहरूमा बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र नेपाल १५ औँ वरीयतामा रहेका छन्।