भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। उत्पादनमा कमी आएको कारण निर्यात प्रतिबन्ध लगाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यसपटक उखुको बाली राम्रो नभएकाले अर्को सिजन बाहिर चिनी पठाउन सक्ने सम्भावना नरहेको उल्लेख गर्दै भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो।

भारतले आगामी असोजदेखि चिनी निकासीमा प्रतिबन्ध लगाउन सक्ने सम्भावना रहेको नेपालका उद्योगी व्यवसायीहरु बताउँछन्। भारत सरकारले यसपटक सेप्टेम्बर ३० सम्म ६१ लाख टन चिनी निर्यात गर्न अनुमति दिएको छ भने गत सिजन ११ लाख टन चिनी अन्य देशमा पठाइएको थियो।

सबैभन्दा बढी उखु उत्पादन हुने पश्चिमी राज्य महाराष्ट्र र दक्षिणी राज्य कर्नाटकका जिल्लामा कम वर्षा भएको बताइएको छ। यही कारणले चिनीको अभाव हुन सक्ने भारतीय सञ्चारमाध्यमका मित्रहरुले बताउँदै आएका छन्।

भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो। भारतबाट बंगलादेश, इन्डोनेसिया, मलेसियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ। साथै भारतको यो निर्णयले नेपालमा समेत असर पर्नेछ । नेपालमा स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न सक्दैन। यसले कालोबजारी बढ्न सक्ने जोखिम हुन्छ।