छोरा मृत फेला परेपछि अस्पताल भर्ना भएका अभिनेता सानु ताम्राकारको निधन


कृष्ण बुढाथोकी

आइतबार, १० भदौ २०८०, दोलखा । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ।

केही समयअघि छोरा सारुक गुमाएका उनको आज दिउँसो उपचारका क्रममा निधन भएको हो। चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको दिउँसो करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो। घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था बिग्रिएर उनलाई नर्भिक अस्पताल, थापाथलीमा भर्ना गरिएको थियो। साउन दोस्रो साता अस्पताल भर्ना भएका उनको पछिल्लो समय किड्नीमा समस्या देखिएको थियो। ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए। थुप्रै चलचित्रमा काम गरिसकेका ताम्राकारको शास्त्रीय नृत्यमा पनि रुचि थियो।

उनले जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु लगायतका फिल्ममा काम गरेका छन्।

सम्बन्धित खबर