आइतबार, १० भदौ २०८०, दोलखा । आफ्ना खेलाडीलाई पाकिस्तान पठाउन अस्वीकार गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अध्यक्ष र उपाध्यक्ष भने एसिया कप हेर्न पाकिस्तान जाने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले एसिया कपको उद्घाटन खेल हेर्न बीसीसीआईका सचिव जय शाहलाई पनि निम्तो गरेको थियो।

तर, उनले हालसम्म पीसीबीलाई कुनै जवाफ फर्काएका छैनन्। बीसीसीआईका अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला भने पाकिस्तान जाने भएका छन्। बीसीसीआईले पनि समाचारको पुष्टि गरिसकेको छ। रोजर बिनी भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी पनि हुन्।

‘मलाई पाकिस्तान जान कुनै हिच्किचाहट छैन। यसअघि पनि मैले धेरै पटक पाकिस्तानको स्मरणीय भ्रमण गरेको छु। पाकिस्तानमा जहिले पनि मैले मिठो सत्कार पाउने गरेको छु, रोजर बिनीले भनेका छन्। उनले आफ्नो भ्रमणबाट भारत र पाकिस्तान बीचको क्रिकेट सम्बन्धमा सुधार आउने विश्वास पनि व्यक्त गरेका छन्।

रोजर बिनीले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेका हुन्। यसअघि उनी सन् २००५ मा पाकिस्तान गरएका थिए। एसिया कपको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ।