विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ।

आज जारी गरेको एकीकृत परिपत्रअनुसार केन्द्रीय बैंकले यसअघिको व्यवस्थालाई लचिलो बनाउँदै आयात केही खुकुलो बनाएको हो।

यसअघि, भण्डारणमा विदेशी मुद्राको सञ्चिती घट्दै जाँदा केन्द्रीय बैंकले आयातमा कडाई गरेको थियो। सोअनुसार एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको प्रतितप पत्र (एलसी) खोल्न नपाउने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको एलसी खोल्न पाउने भएका छन् ।

रेमिट्यान्सको आप्रवाह बढ्दै गएपछि केन्द्रीय बैंकको भण्डारमा ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिती छ। यसअघि, रेमिट्यान्सको आप्रवाह घट्दा ६ महिना आसपासको मात्रै आयात धान्ने भण्डारण थियो।